काठमाडौं: त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत नेपालले यूएईलाई सात विकेटले पराजित गरेको छ । यूएईले दिएको १४१ रनको लक्ष्यलाई नेपालले ७ बल बाँकी छँदै पुरा गरेको हो । नेपालले १८.५ ओभरमा तीन विकेटको क्षतिमा १४४ रन बनायो । नेपाल कप्तान रोहित पौडेलले ४० बलमा ५ चौकाको मद्दतले ५१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २३ बलमा ३ चौका तथा एक छक्काको सहयोगले ३४ रन बनाए । त्यसअघि कुशल भूर्तेल १४, आसिफ शेख २३ तथा कुशल मल्ल ११ रन बनाएर आउट भए ।
मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको थियो । यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए भने अली नासिरले पनि ३२ रन जोडे ।
५२ रनमा ४ विकेट गुमाएको अवस्थामा उनीहरुले अर्धशतकीय साझेदारी गरेका हुन् । नेपालका करन केसीले ३, गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक विकेट हात पारे ।
विश्वकप छनोटको तयारीका लागि नेपालले यो प्रतियोगिता आयोजना गरेको हो । नेपालले हङकङसँग पनि प्रतिस्पर्धा गर्नेछ ।