काठमाडौं, २२ असोज । इजरायलमा प्यालेस्टाइनी अतिवादी समूह हमासले गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको छ ।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा रहेको कृषि फार्ममा कार्यरत सुदूरपश्चिमका १० जना विद्यार्थीको गोली लागेर मृत्यु भएको इजरायलमा रहेको नेपाली दूतावासले पुष्टि गरेको हो । त्यस्तै दुईजना विद्यार्थी बन्धक बनाइएको छन् भने ३ जना घाइते भएर अस्पतालमा उपचाररत छन् । नेपालबाट इजरायलमा केयर गिभरा काम गर्न जानेको संख्या ४ हजारभन्दा माथि रहेको छ । त्यस्तै विभिन्न विश्वविद्यालयमा कृषि अध्ययन गर्नपनि विद्यार्थी इजरायल गएका छन् ।
हमासको आक्रमणमा परि सयौं इजरायलीको ज्यान गैसकेको छ ।
मृत्यु हुनेमा घोडाघोडी, ४ कैलालीका नारायणप्रसाद न्यौपाने, जयपृथ्वि ६ बझांगका गणेश कुमार नेपाली, बौनिया ३ कैलालीका आशिष चौधरी, लेकम ५ दार्चुलाका दीपेशराज विष्ट, सापाही ६ धनुषाका आनन्द साह रहेका छन् । त्यस्तै, मधुवन १ सुनसरीका राजेश कुमार स्वर्णकार, पचानली ३ डोटीका राजन फुलारा, लमिखाड ८ डोटीका पदम थापा, शारदा ३ दैलेखका प्रवेश भण्डारी र मालिकार्जुन ४ दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमास आक्रमणकारीको आक्रमणमा ज्यान गएको छ ।
आक्रमणमा घाइते भएका शारदा ३ सल्यानका विधान सेजुवला, दांगिशरण ३ दांगका प्रविण डांगी र टिकापुर ३ कैलालीका धनबहादुर चौधरीको उपचार भैरहेको छ ।
इजरायलमा फसेका नेपालीको उद्दार गर्न नेपाली राजदूतावास इजरायलले सूचना जारी गर्दै आफुहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ । इजरायलको लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई सम्पर्क गर्न मन्त्रालयले सूचित गरेको छ । उद्दारका लागि मन्त्रालयकी प्रवक्ता सेवा लम्साललाई मोबाइल नम्बर ९८५१३१०२२९, मन्त्रालयका सहसचिव शरदराज आरणलाई ९८४४४९५८५८, उपसचिव द्रुपदा सापकोटालाई मोबाइल नम्बर ९८४१४०३३६२ र शाखा अधिकृत कृष्ण सिलवाललाई ९८४९१७९५२० मा सम्पर्क गर्नपनि दूतावासले अनुरोध गरेको छ ।