काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको विचार तथा कार्यक्रमका बारेमा देशव्यापी प्रशिक्षण दिने जनशक्ति तयार गर्न लागेको छ ।
पार्टीले प्रशिक्षकका लागि प्रशिक्षण भन्ने कार्यक्रमको आयोजना गरेर पहिलो चरणमा देशव्यापी ५० जना प्रशिक्षक तयार गर्न लागेको हो । प्रशिक्षकहरुका लागि पार्टीले बिहीवारदेखि काभ्रेको धुलिखेलमा तीनदिने आवासीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको पार्टीको प्रशिक्षण विभागकी उपप्रमुख खुश्बु ओलीले जानकारी दिइन् । कार्यक्रमको राप्रपा प्रशिक्षण विभागका प्रमुख समेत रहेका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत नेताहरुको उपस्थितिमा सुरु भएको छ ।
तीन दिने प्रशिक्षणमा राप्रपाका सातै प्रदेशका युवा नेताहरु सहभागी भएका छन् । नेशनल डेमोक्रेटिक इन्स्टिच्यूट नेपालसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । प्रशिक्षणका क्रममा प्रशिक्षार्थीलाई पार्टीका शीर्ष नेताहरु तथा विज्ञहरुद्वारा राप्रपाको आन्तरिक र बाह्य राजनीति, अर्थतन्त्र, नेतृत्व विकास सम्बन्धी विभिन्न सत्रहरु सञ्चालन गरिने उपप्रमुख ओलीले जानकारी दिइन् ।
तीनदिने प्रशिक्षण कार्यक्रम मार्फत प्रशिक्षण लिएका पार्टीका सदस्यहरुले देशव्यापी रुपमा पार्टीका विभिन्न तहगत कमिटि र पार्टी सदस्यलाई प्रशिक्षण सञ्चालन गर्ने जनाइएको छ ।