काठमडौं, २ असोज । आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई विश्वचर्चित टाइम्स म्यागेजिनले विश्वका १०० प्रभावशाली नेताको सूचिमा राखेको छ ।
आधुनिक र्याप संगीतको क्षेत्रमा क्रियाशिल र विज्ञताका हिसावले सिभिल इञ्जिनीयर बालेन्द्रको छोटकरी र चर्चित नाम हो बालेन् । उनै बालेन घरि बिवादित हुन्छन् त कहिले प्रशंसाको थेग्नै नसक्ने ताज लगाउँछन् । मिडियामा आउनै नरुचाउने बालेन महानगरको प्रमुख भएसँगै महानगरको सार्वजनिक शिक्षामा परिवर्तनको अभियान थालनी गरेका छन् ।
सार्वजनिक विद्यालयलाई सुधार गर्नका लागि विभिन्न योजनमा काम गरिरहेका बालेनको शिक्षाका भिजन कत्तिको कार्यान्वयन हुन्छन् भन्ने चाहीँ हेर्नै बाँकी छन् तथापी कतिपय योजनाले राम्रो नतिजा ल्याएको महानगरको शिक्षा विभागले जनाएको छ ।
महानगरले सबै सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई राजनीतिक दलहको झण्डा नबोक्न र कार्यस्थलमा राजनीतिक गतिविधि नगर्न यसअघि नै निर्देशन दिइसकेको छ । बालेनको उक्त निर्णयको चौतफी प्रशंसा भएको छ ।
त्यस्तै महानगरपालिकाको शिक्षा विभागले हरित विद्यालय अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत महानगर अन्तर्गतका विद्यालयहरुले आफ्नो विद्यालयलाई फूल, गमला, बिरुवामार्फत हरियाली र मनोरम बनाउनुपर्ने छ जसलाई आवश्यक सामान र लागत विभागलाई पेश गर्नुपनेछ । यस कार्यका लागि विवरण संकलन गर्न महानगरले विद्यालयहरुलाई ताकेता गरिरहेको छ ।
त्यस्तै, महानगरले हरेक शुक्रबार विद्यालयलाई पुस्तकरहित सिकाई सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । अतिरिक्त सिकाईका माध्यमबाट विद्यार्थीलाई पढाउन थालिएको यस अभ्यास कतिपय विद्यालयमा प्रभावकारी देखिएको छ भने कतिपय विद्यालयमा कार्यान्वयन नै हुनसकेको छैन ।
सबैतिर कार्यान्वयन हुन नसकेको भन्दै महानगरले सूचना नै निकालेर विद्यालयहरुलाई ताकेता र सचेत गराएको छ । महानगरले सबै विद्यालयलाइ पुस्तकरहित बनाउन सबै विद्यालयमा बाल समिति र सञ्जालहरु बनाउन निर्देशन दिएपनि सो निर्माण गरेर विभागलाई जानकारी नआएको भन्दै ताकेता गरेको हो ।