काठमाडौं, २ असोज । बिहीबारदेखि काठमाडौँको दशरथ रङ्गशालामा हुनलागेको साफ यु–१९ च्याम्पियनसिपको तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
दशरथ रङ्गशालामा मङ्गलवार पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको र बुधवारसम्म सम्पूर्ण टिमहरु आउने जनाएको छ । प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलङ्का, भारत, बङ्गलादेश र मालदिभ्स सहभागी हुनेछन् ।
नेपाल रहेको समूह ए मा पाकिस्तान र मालदिभ्स र समूह बीमा भारत, बङ्गलादेश र भुटान रहेका छन् । प्रतियोगिताको लागि भिआइपी प्यारा पिटतर्फ ३०० र साधारण प्यारा पिटतर्फ १०० टिकट मूल्य राखिएको पत्रकार सम्मेलनमार्फत एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
सहभागी टोलीलाई नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ । च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार रहेको र बजेट साफले नै उपलब्ध गराउने शाहले बताए ।
बिहीबार सुरु हुने प्रतियोगिता असोज १३ गतेसम्म चल्नेछ भने प्रतियोगिताका सबै खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । सुरुवाती खेल नेपालले पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल मालदिभ्ससँग खेल्ने सूची रहेको छ।