काठमाडौं, २ असोज । विवादित चलचित्र एक भागवत एक गीता (सामाजिक कथा)ले अपेक्षकृत प्रदर्शन नगरेको रिपोर्टहरु आएका छन् ।
तीजको पूर्वसन्ध्या पारेर शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्रलाई लिएर ठूलो विवाद र हंगामा मच्चिएको थियो ।
विवाद भए अनुरुप चलचित्र हेर्ने दर्शकको भीड हुने अपेक्षा निर्माण पक्षले गरेपनि त्यस्तो नभएको देखिएको छ । यद्यपी एक भागवत गीता नाममा बनाइएको फिल्मलाई लिएर धार्मिक क्षेत्रका व्यक्ति तथा संस्थाहरुले आपत्ति जनाएका थिए । सो पश्चात चलिचित्र विकास बोर्डको समन्वयमा निर्माण पक्ष र असन्तुष्ट पक्षबीच छलफल गरेर चलचित्रको नाम एक भागवत एक गीता राखिएको हो ।
साधारणतया विवादमा आएको चलचित्र चल्ने अनुमान गरिन्छ । नभन्दै विभिन्न कारणबाट विवादमा आएका चलचित्रहरु चलेका पनि छन् ।
तथापी एक भागवत एक गीताको निर्माण पक्षले चलचित्र चल्ने अपेक्षालाई मारिसकेका छैनन् । विस्तारै शनिवार र आइतवार फिल्म हेर्ने दर्शकको संख्यामा केही वृद्धि भएको छ । यसले निर्माणपक्षलाई राहत दिएको छ ।