काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असोज ३ गते राजधानीमा नेशनल वाक गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले ‘नेपालीको हकअधिकार लेखिएको दिन, असोज तीन’ भन्दै फेसबूकमा भिडियो पोष्ट गरेर दिवसका दिन बुधवार बिहान ७ बजे नारायण चौर नक्सालमा सहभागी हुन आह्वान गरेका छन् । त्यस्तै ओलीले संविधान दिवसका दिन सेल्फी विथ नेशनल फ्ल्याग खिच्न पनि आह्वान गरेका छन् ।
युवा तथा किशोर किशोरीको भावनालाई समेट्ने र सामाजिक सञ्जाल लगायतको प्रयोगलाई बढाउने रणनीति अनुसार पछिल्लो समय ओली प्रविधि मैत्री बन्दै गएका छन् । उनले पछिल्लो पुस्ताका आकांक्षाहरुलाई बुझन् हालैमात्र बासँग बालबालिका भन्ने कार्यक्रममा सहभागी भए । केपी ओलीले केपीबा भन्ने शब्दलाई आफै लागेर राष्ट्रियकरण गरिरहेका छन् । यसै क्रममा संविधान दिवसको अवसरमा राखिएको कार्यक्रमपनि बढिभन्दा बढि सामाजिक सञ्जालमा खपत गराएर सञ्जालमा आफ्नो राजनीतिक दवदवा कायम राख्ने पक्षमा ओली देखिएका छन् ।
ओलीले असोज ३ लाई निम्तो गरेर बनाएको भिडियो सामग्री पनि नयाँपुस्तामैत्री छ ।