आज गणेश चौथी अर्थात भाद्र शुक्ल चतुर्थी तिथि । आजको तिथिलाई हिन्दु धर्मावम्बीहरुले महत्वपूर्ण र पावन दिनका रुपमा मनाउने गरेका छन् ।
पूजा परम्परामा गणेश भगवानका अग्राधिकार रहेको छ । विघ्नहर्ता गणेश भगवानको पूजा नगरिकन कुनैपनि देवकर्म सुरु हुँदैन । कुनैपनि कुरा नयाँ सुरु गर्नुलाई पनि श्रीगणेश गर्ने भन्ने गरिन्छ । प्रजामा अग्राधिकार पाएका तिनै सिद्धिविनायक श्रीगणेशको सत्ययुगमा गणेश चतुर्थीका दिन जन्म भएको पुराणहरुमा उल्लेख छ ।
पूजामा अग्राधिकारका विषयलाई लिएर गणेश र उनका भाइ कार्तीकेयः को एउटा प्रसंग छ । त्रिकालदर्शी श्री महादेव अर्थात गणेशका पिता र माता पार्वतीले तीन त्रिलोक र चौध भूवन परिक्रमा गरेर जो छिटो आउँछ उसैको पूजाहवन पहिले गर्ने भनेपछि शिवपुत्र कुमार मयुरमा सवार भएर तिन त्रिलोक र चौध भूवनको परिक्रमामा निस्के । तर, मुसा वाहन भएका श्री गणेशले आफेना माता पार्वती र पिता शिवको परिक्रमा गरेर आफना लागि मातापिता नै त्रिलोक र चौध भूवन भनेपछि प्रसन्न भएका महादेवले हरेक शुभकार्यको सुरुवात श्रीगणेशको पुजा गरेपछिमात्र आरम्भ हुने व्यवस्था गरेको सांस्कृतिक र पौराणिक कथाहरुमा उल्लेख ।
गणेश चौथीका दिन आज हरितालिका तिजमा सोमबार व्रत बसेका महिलाहरुले पूजा आराधना गरेका छन् । तीजमा व्रत नबसेकाहरु पनि आजको दिनमा ब्रत बस्ने र गणेशको आराधना गर्ने प्रचलन रहेको छ । गणेश चौथीका दिन उपत्यकाको सूर्य विनायक, कमलविनायक, सिद्धिविनायक, अशोकविनायक, कमलादी गणेस्थान लगायत मन्दिरमा भक्तजनहरुले पूजा गरे ।
आजकै दिन नेवार समुदायले चथाः पर्व मनाउने गरेका छन् । नेपाली मौलिक परम्परा अनुसार गणेश चौथीका दिन गाउँघरमा राति अरुका जग्गाका फलफूहरु चोरेर खाने प्रचलन पनि रहेको छ ।