काठमाडौं, ३१ भदौ । चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको आक्रमण विरुद्ध आइतवार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
गत भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा कार्यस्थलमा रहेका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको आक्रमणमा संलग्न्लाई कार्वाही गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएकोमा समयसीमामा कुनै ठोस प्रकृया अघि नबढेको भन्दै संघले स्वास्थ्य सेवा नदिनेसम्मको निर्णय गरेका हुन् ।
शनिवार एक विज्ञप्ति निकाल्दै संघले भनेको छ, २०८० भदौ ३१ गते आइतवार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेववाहरु पूर्ण रुपमा बन्द गरिने छ । संघले यसलाई आफ्नो बाध्यात्मक आन्दोलन भनेको छ ।
साथै संघले २७ गते आक्रमणमा परेका चिकित्सकमाथि हातपात गर्ने व्यक्तिहरुलाई फौजदारी अभियोगमा मुद्दा चलाउन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कार्वाही गर्न माग गरेको छ । संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवाई रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरिहत वातावरणमा स्वस्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्व मिलाउनुपर्ने माग पनि अघि सारेको छ ।
त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ लाई अक्षरस पालना गराउनका लागि नेपाल ससकारका न्यायिक, अर्धन्यायिक, सम्पूर्ण सुरक्षा निकाय, गृहमन्त्रालय लगायत सरोकारवाला सबैलाई स्वास्थ्इ क्षेत्रको संवेदनशिलातालाई गम्भीर रुपमा मनन गरि सोही अनुरुप चेतनामूलक कार्यक्रम गर्नपनि संघले माग गरेको छ ।
साथै संघले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको जनशक्ति दिनप्रतिदिन रोजगारी तथा क्षमता अभिवृद्धिका लागि विदेशिन बाध्य भइरहेको विद्यमान परिस्थितिलाई गम्भीर रुपमा मनन गरि अविलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि आवश्यक कार्य अघि बढाउन माग गरेको छ ।
संघले नेपालमा जनसंख्याको अनुपातमा चिकित्सकको दरबन्दी अति न्यून भएको भन्दै चिकित्सकको दरबन्दी वृद्धि गर्न र सोही अनुसार वैज्ञानिक रुपमा कार्य समयको निर्धारण र सेवा सुविधान दिनुपर्ने माग पनि संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
संघले हेटौंडामा भएको घटनामा पीडिक र पीडितलाई मिल्न प्रशासनले मध्यस्थता गरेको आरोप लगाउँदै घटनालाई निस्तेज गर्ने नभई दोषीलाई आवश्यक छानवीन गरि कार्वाही गर्न संघले माग गरेको छ । आपराधिक मानसिकता बोकेका मानिसहरुबाट चिकित्सकलाई जोगाउन सरकारले यथाशीघ्र कानून कार्यान्वयनमा नगए पछिल्लो समय बढेको चिकित्सक पलायन थप बढ्ने संघको दावी छ ।
हेटौंडा घटनापछि आक्रोशित संघले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायतलाई भेटेर दोषीलाई कार्वाही गर्न माग गरेसँगै चरणवद्ध आन्दोलन सुरु गरेको हो ।