काठमाडौं, २२ भदौ । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा अभ्यस्त र क्रियाशिल नेता हुन् । उनको सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोवर छन् । डा. भट्टराईको फेसबूकमा १४ लाख र अहिले एक्स भनेर बुझिने टुइटरमा १४ लाख फलोअर्स छन् ।
माओवादीको सशस्त्र राजनीतिक मोडलका योजनाकार मानिने भट्टराई पछिल्लो समय सामाजिक सञ्जालमा धेरै आलोचना खेप्ने नेतामध्ये एक हुन् । बाबुराम र प्रचण्डको नेतृत्वमा भएको भूमिगत युद्धले देशमा ठूलो क्षति पुर्याएको तर त्यसबाट प्राप्त व्यवस्था थप भ्रष्ट, सामन्तवादी र खराब चरित्र भएको भन्दै बाबुरामहरुलको चर्को आलोचना हुने गरेको हो ।
डा. भट्टराईकी छोरी मानुसी यमीपनि बुबाआमाको मार्ग पछ्याउँदै राजनीतिमा छिन् । अघिल्लो संघीय निर्वाचनमा काठमाडौं ७ मा पराजित यमी भट्टराई दम्पतिको एक्ली सन्तान हुन् । मानुसीको बिहै भैसकेको छ भने उनको एक छोरापनि छन् । युगिन नाम गरेका मानुसीका छोरासँग डा. भट्टराईको ठूलो लगाव रहेको कुरा सामाजिक सञ्जालमा देखिन्छ । जुन एक हजुरबा र नातीबीच हुने स्वभाविक आत्मियता हो ।
तर, जबजब भट्टराईले नातीको तस्वीर राखेर आफ्नो माया अभिव्यक्त गर्छन तब, सुरु हुन्छ उनलाई बन्दुकसरी शब्दाक्रमण । हालैमात्र पुनः त्यस्तै टिप्पणीहरुले डा. भट्टराईको पोस्ट भरिएको छ । मानुसी यमी र ज्वाईँसँग राजधानीको स्काईवाक घुम्न गएको नातीको तस्वीर फेसबूकमा पोस्ट गरेका डा. भट्टराईले अधिकांशले आलोचना र विरोध गरेका छन् ।
८ सयभन्दा धेरै प्रयोगकर्ताले टिप्पणी गरेको उक्त पोस्टमा प्रायःले नकरात्मक टिप्पणी गरेका छन् । ‘आहा आकाशयात्रामा युगिन !’ भनेर भट्टराईले पोष्ट गरेको तस्वीरमा अधिकांशले नेताका सन्तान आकाशमा जनताका सन्तान बाकसमा भनेर यो व्यवस्था र बाबुराम भट्टराईमाथि कटाक्ष गरेका छन् ।
साथै कतिपयले अवोध जनतालाई मार्दै गर्दा, बालबालिकालाई टुहुरो र महिलालाई विधवा बनाउँदै गर्दा आफ्नो नातीलाई जस्तो प्रेम र करुणा किन आएन ? भनेर प्रश्न पनि गरेका छन् । त्यसो त भट्टराईका हरेकजसो पोस्टमा आउने आमप्रतिक्रिया हो यो । उनले ती कुनैपनि प्रतिक्रियाको जवाफ दिने गरेका भने देखिँदैन ।
पछिल्लो चुनावअघि उपेन्द्र यादवसँग सम्बन्ध विच्छेद गरेर नयाँ पार्टी बनाएका भट्टराई चुनावताका आफ्नै पुरानो घर फर्किए । आफुले चुनाव जित्दै आएको क्षेत्र प्रचण्डलाई बुझाएका बाबुरामले प्रचण्डलाई एकपटक पुनः शक्तिशाली बनाएपनि आफु भने राजनीतिको निर्णायक भूमिका भन्दा परै साक्षी किनारा झैं रहेका छन् ।