बिराटनगर, ०६ भदौ । संसब बैठकको अध्यक्षता गरेका व्यक्तिलाई समेत भोट हाल्न लगाएर विश्वासको मत लिएका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उपसभामुख गयल भएका कारण ज्येष्ठ सदस्यका रुपमा कोशी प्रदेशको अध्यक्षता गरेका इस्राइल अन्सारीको मत दुरुपयोग गरेर विश्वासको मत लिएको दावी गर्दै एमालेका सांसदहरु अदालत पुगेका हुन् । पूर्व मुख्यमन्त्री कार्कीले आफूलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि परमादेश माग गरेका छन् ।
संविधानको धारा ६८ को उपधारा ३ मा १६८ को उपधारा २ अनुसार नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएमा पदमुक्त हुने व्यवस्था छ । यदि तेसो भएमा प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । एमाले कोशी प्रदेशको सबैभन्दा ठूलो दल हो । ९३ सांसद रहेको सभामा एमालेको ४० सिट रहेको छ । एमालेले यसअघि बनाएको प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको थियो । थापा नेतृत्वको सरकार बनेसँगै एमाले र राप्रपा प्रतिपक्ष बनेका छन् ।
उता सत्ता गठबन्धनले कोशीमा विश्वासको मत लिने सभा विथोल्ने हिसावले एमाले सांसद, उपसभामुख लगायत भागेकाले उपयुक्त विकल्प अपनाएको दावी गरेको छ । यसअघि पनि तत्कालिन सभामुखको समेत हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्री नियुक्त भएका थापाले यसपाली पनि सभाको अध्यक्षलाई समेत मत हाल्न लगाएर विश्वास लिएको दावी गरेका छन् ।