काठमाडौं, ३ भदौ । अघिल्लो वर्ष वर्षायामको अन्तिममा महामारीको रुप लिएको डेंगुले यसपालीपनि धेरैको ज्यान लिनसक्ने आंकलन गरिएका बेला बागमति प्रदेशमा शनिवार दुई साता यताकै सबैभन्दा कम डेंगु संक्रमित फेला परेका छन् ।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणमा गत १५ दिनको तुलनामा सबैभन्दा कम आंकडा शनिवारको देखिएको हो । मन्त्रालयका अनुसार प्रदेशभरिमा शनिवार कम संक्रमित फेला परेकोमा धादिङमा मात्र गत २४ घण्टामा ४४ जना डेंगु संक्रमित पहिचान भएका छन् । त्यस्तै भक्तपुरमा एकजनालाई डेंगु देखिएको छ ।
गत १५ दिनको तथ्यांकमा शनिवार ४५ जना र शुक्रवार १ सय ३६ जनालाई संक्रमण भएको छ । मन्त्रालयका अनुसार यसवर्ष बागमति प्रदेशमा हालसम्म १ हजार ९ सय ८९ जनालाई डेंगु भएको छ । जसमा धादिङमा मात्र १ हजार ३ सय ८९ जना डेंगु संक्रमित फेला परेका हुन् ।
सरकारले डेंगु संक्रमण न्यूनीकरण गर्न एकीकृत कार्ययोजना बनाएर कार्य गरिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उसले लामखुट्टे न्यूनिकरण गर्न खोज र नष्ट गर अभियान चलाउन देशका तिनै तहका निकायलाई परिपत्र गरेको जनाएको छ ।