काठमाडौं, ३ भदौ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीका सरकारी अस्पतालका शैया पूर्ण निःशुल्क गर्ने घोषणा गरेसँगै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि मातहतका अस्पतालमा शैया निःशुल्क गरेको घोषणा गरेको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका विभिन्न जिल्लामा रहेका १३ वटा अस्पतालमा निःशुल्क जनरल बेडको व्यवस्था गरिएको छ । आइसियु, एनआइसियु र क्याबिनका शैयाहरु बाहेक जनरल बेडमात्र निःशुल्क गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको हेटौंडा अस्पताल मकवानपुरमा १ सय ७५ शैया निःशुल्क गरिएको छ ।
त्यस्तै जिल्ला अस्पताल सिन्धुली, नुवाकोट र धादिंगका क्रमशः ७७, ९२ र ७९ सामान्य शैया निःशुल्क गरिएको छ । त्यस्तै दोलखाको पशुपति चौलागाईं मेमेरियल क्यान्सर अस्पतालमा ४५, ललितपुरको बज्रबाराही चापागाउँ अस्पतालमा २५, भक्तपुर अस्पताल भक्तपुरमा ७५ र रसुवा जिल्ला अस्पतालमा १९ शैया निःशुल्क बनाइएको छ ।
काठमाडौंको टोखा नगरपालिकामा रहेको चण्डेश्वरी अस्पतालमा २५, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ३६ र काभ्रेको मेथिनकोट अस्पतालको ५१ शैया सर्वसाधारणका लागि निशुल्क गरिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले राजमार्गलाई बताएका छन् । प्रदेशले चितवनको रत्ननगर बकुलहर अस्पतालको पनि ७६ र रामेछापको जिल्ला अस्पतालको ३६ शैया निःशुल्क गरेको छ ।
साथै, प्रदेशले अन्तर्गतका अस्पतालमा आउने गरिब, विपन्नको पहिचान र उपचारमा सहजिकरण गर्न सामाजिक सेवा ईकाईको स्थापना र सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।