पोखरा, २७ साउन । पोखरा महानगरपालिका कार्यालय र नगरप्रमुखकै अग्रसरतामा पोखराको पृथ्विचोकमा रहेको राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्विनारायण शाहको शालिक निकालेपछि राप्रपाले तीव्र विरोध गरेको छ ।
राष्ट्रनिर्माताको शालिक हटाएर द्वन्द्व निम्त्याउने खोजेको भन्दै राप्रपाले शनिवार साँझ महानगरका मेयर धनराज आचार्यको पुत्लादहन गरेका छन् । राप्रपाको असहमतिका बाबजुद मेयरले शालिक निकाल्ने निर्णय गरेपछि राप्रपा गण्डकी प्रदेशले विरोध जनाउँदै शालिक रहेको ठाउँमा धर्ना बसेको थियो । राप्रपा गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरुंग लगायत नेताहरुले शालिक अगाडी धर्ना दिएपनि महानगरले मध्यरातमा छापामार शैलीमा हटाएपछि विवाद सुरु भएको हो ।
बडामहाराजधिराजको शालिक हटाएपछि आक्रोशित भएका राप्रपा समर्थकहरुले चोकमा लखन थापाको सँगै पृथ्विनारायण शाहको प्रतिमा राखेका थिए । पोखरा महानगरको कामलाई लिएर राप्रपाले मात्र नभएर चौतर्फी विरोध भइरहेको छ । पृथ्विचोकमा पृथ्विनारायण शाहको शालिक पुनस्थापना नभएसम्म आन्दोलन जारी राख्ने राप्रपा गण्डकीले जनाएको छ ।